Search This Blog

Thursday, March 21, 2013

कविता: म कसोरी स्वीकारौं यो विडम्बनालाई ?

म कसोरी स्वीकारौं यो विडम्बनालाई ? 
मेरो मातृभुमी 
विश्व शान्ति क्षेत्र 
उफ् कस्तो बिडम्बना 
एकातिर शान्तिको नारा छ 
अर्कातिर क्रान्तिको नारा । 
एकातिर बुद्ध चाहने छन् 
अर्कोतिर युद्ध चाहने ।। 
म कसोरी स्वीकारौं 
यो बिडम्बनालाई ? 

चार जात छत्तिस वर्णको 
साझा फुलबारीमा 
यो कस्तो असामन्जस्यता ? 
एकातिर नेपाली पना 
सबै जातजाती समान हुन् 
अर्कातिर जातीय विभाजन 
विखण्डनवादको प्रचार । 
एकातिर समग्र नेपाल छ 
अर्कातिर पहाडे, मधिसेको द्वन्द्व ।। 
म कसोरी सल्टाउँ 
यो असामन्जस्यतालाई ? 

लोकतन्त्रात्मक सत्ता 
जनताले चयन गर्ने प्रथा 
एकातिर पुरानो निरंकुशता 
अर्कोतिर नौलो अधिनायकवाद । 
एकातिर जग्गा जमिन, धनसम्पत्तीको लुटेरा 
अर्कातिर अस्तित्व, राष्ट्रियता र स्वतन्त्रताको ।। 
म कसोरी चुनूँ 
दुवै अराष्ट्रिय तत्वलाई ? 

एकातिर दुर्भाग्यता 
अर्कातिर अकर्मण्यता । 
एकातिर अर्थतन्त्र 
अर्कातिर उँधोगति ।। 
एकातिर देश दु्ब्लाइरहेछ 
अर्कातिर जुकाहरु मौलाइरहेछन् ।।। 
म कसोरी मेटाउँ 
यो असमानतालाई ? 
म कसोरी स्वीकारौं 
यो बिडम्बनालाई ? 

२०६४.०८.१९ 
माथिको कविताको पहिलो पंक्ति मैले निकै अघि पढ्न पाएको "दुबो-साहित्यिक त्रैमासिक"(अंक याद भएन तर यस्तै ४० सालतिर प्रकाशन भएको हुनुपर्छ) नामको पत्रिकामा छापिएको मुक्तकबाट प्रभावित भएर लेखेको छु... यद्यपि त्यो मुक्तक मैले ८-१० वर्ष अघि पढेको हुनाले जस्ताको त्यस्तै भने छैन.. बाँकि हरफहरु मेरा आफ्नै सृजना हुन्.. |

No comments:

Post a Comment