Search This Blog

Wednesday, September 16, 2015

Nepali Ghazal

गजल

धर्म मान्नेलाइ मान्न देऊ हल्ला गर्नेलाइ गर्न देऊ
यशु बुद्ध अल्लाह अनि रामको शरण पर्न देऊ

बसुन् भोको पेट राखी शरीरले नसकेनी
नदेखेको स्वर्ग पाउन मर्नखोज्नेलाइ मर्न देऊ

कि सक्छौ सिकाउ मानवता परम धर्म मानवको
विवेकशील भै जन्मनुको पुष्ट्याइ गर्न देऊ

तेरो मिथ्या मेरो सत्य यस्तै यस्तै लडाइँमै
दुई दिने यो जिन्दगीको घामजुन झर्न देऊ

लेखनाथ-७, कास्की
२०७२/०५/३०, हरितालिका तीजको व्रत बस्नुहुने नहुनेवारे सामाजिक संजालमा भएको टिकाटिप्पणी पढेर फुरेको.. |

Friday, May 15, 2015

महाभूकम्प - २०७२

आयो आयो हेर भुइँचालो धरती थर्काउँदै
थोत्रा मोत्रा ती मक्किएका घर चर्काउँदै |

सन्त्रासको बास भयो आवास भयो कालसरी
छत भएन सुरक्षित खुला चउर र पालसरी |

विनास भो क्षणभरमै मरे कति दाजुभाई
पराकम्प र पुनराबृत्ति भयो साह्रै पीडादायी |

तत्क्षण जुटे जनता उद्दार कर्म निमित्तक
भक्कानियो विश्व पनि यो विनासमा एक पटक |

सद्भाव र हातेमालो, एकताको वास भो
पूनर्निर्माणका खातिर सहयोगको आश भो |

जागौं जुटौं यो विपत्तीमा मातृभूमि बचाउन
अझै सक्षम नेपालको निर्माणमा सघाउन |

लेखनाथ नगरपालिका, २०७२/१/३१

Wednesday, March 5, 2014

लघुकथा: "सभ्यता"

एजे भर्खरै खुलेको एक बहुराष्ट्रिय कम्पनीको प्रतिष्ठित पोष्टमा छ | बाबुले जुराईदिएको नाम त अजय बाबु शर्मा हो तर उसले कम्पनीको प्रतिष्ठ र आफ्नो रवाफ कायम राख्न यो नाम छानेको रे | व्यस्त शहरमा अति व्यस्त जीवन बिताइरहेको एजेको लन्च र डिनर प्राय रेस्टुरेन्ट, बेकरी क्याफे वा तारे होटलमा हुने गर्छ |
उसको अफिसको नयाँ भवन निर्माणको सिलसिलामा उसले मलाई भेट्न बोलायो टेकुको एउटा ताश घरमा | केही बेर छलफल गरी एक/एक प्लेट तास र एक/एक वोटा चिसो  सकेपछि हामी छुट्टिने तर्खरमा थियौं | वेटरले बिल ल्यायो र अंग्रेजी सभ्यता दर्शायो "five hundred seventy five sir" हुन त उसले यो भन्दा पहिले पनि "menu sir", "what shall I serve you sir?", "this much! fine sir" जस्ता बाक्यांशको प्रयोगले नेपाली कम अंग्रेज ज्यादा भएझैं देखाईरहेको थियो | एजेले पनि हजारको नोट निकालेर "you have good command in English. I like it, you may keep the change" भन्यो | मलाई चित्त बुझेन र बाहिर आएपछि सोधेँ "टिप नै चार सय पच्चिस रुपैंयाँ, यो त बढी भएन?"
"हैन, हेर्न कत्ति राम्ररी सर्भ गरेको | he deserves it" कति सजिलै भन्यो उसले | रोडपारी पे-पार्किंगमा राखेको उसको कारसम्म पुग्न नपाउँदै एक माग्नेले दयालाग्दो ढङ्गले हात फैलायो "हजुर पाँच रुपैंयाँ दिनुस् न, कृपा हुन्छ, दुई दिनदेखि भोकै छु |" तर उसले सजिलै टारीदियो "ओई भाग! पाँच रुपैंयाँ के बोटमा फल्छ? मगन्ते साला..........."

२०६४/१२/१४
नैकाप

Saturday, August 10, 2013

चेन्नाई एक्सप्रेस भर्सेस महशुश..

भूमिका
सर्वप्रथम यो कुनै मुभी रिभ्यु हैन किनकी म कुनै मुभी क्रिटिक हैन... तर एक दिनको उर्जाशील ६ घण्टा र ठुलै रकम हलमा बुझाएपछि यती लेख्न पाउने मेरो अधिकार हो भनेर मात्रै यहाँ शेयर गरेको हुँ... पढ्ने नपढ्ने तपाईं भिजिटरकै विचार
थिम
आज मुभिमय दिन भयो.. विहान #OMAX मा #ChennaiExpress र साँझ #OM मा आर्यन र केकीको महशुश...
भोलि फिलिम हेर्ने प्लान कसैले बनाएको भए महशुश हेरौं... त्यत्रो प्रगति गरेको बलिवुडमा बनेको फिल्म र कुनै ग्राउण्डमा तुलना गर्न नमिल्ने हाम्रो कलिवुडमा बनेको फिल्म.. आखिर आधा/अधुरो बकवाश नै हेर्ने भए नेपाली फिल्म नै हेरौँ न.. कमसेकम कथा त अलिकति भएपनि फरक छ महशुशको.... क्लाइमेक्स सामान्य नेपाली फिल्म भन्दा फरक छ... #CE को त त्यो पनि छैन... मेरो भतिजले इन्टरभल अघिनै... यो फिलिम त घरमै हेरेको हैन भन्यो... के गरोस टिभीमा की कार्टुन लाग्छ की साउथको फिल्म ;)
कसै कसैको (निर शाहको पनि) लाउड एक्टिंग भए पनि आर्यन र केकीको राम्रो एक्टिंग छ... पहिले भन्दा उम्दा ध्वनी, क्यामेरावर्क र प्रिन्ट छ...
उपशंहार
बलिवुड उद्योगलाइ तिर्ने पैसा नेपाली फिल्मलाइ तिर्दा हाम्रो स्तर उकास्न मद्दत त पुग्छ... हामीले पनि माया गर्दा मात्र हामी बलिवुड को त्यो क्वालिटी भेट्न सक्छौं..
अस्तु,

०७०-४-२६
हेटौडा

(फेसबुक स्टाटस राख्न लेखिएको यो पंक्ति अलि लामो भयो र ब्लगमै राख्नुपर्यो ;) )

Saturday, August 3, 2013

Gazal

तीन लोक चौध भुवन संसार तिमी मेरो लागि 
इश्वरको सर्वश्रेष्ठ उपहार तिमी मेरो लागि ।। 

रंगिचंगी फूल बीनाको वसन्तको के माधुर्य 
मोहनी त्यो मुस्कानको बहार तिमी मेरो लागि ।। 

तिमीले बोल्दा लाग्छ मिठो सारंगीको धुनजस्तो 
रेटुँ रेटुँ झैँ सितार्को तार तिमी मेरो लागि ।। 

आठै प्रहर दिन रात् सम्झनामा तिमी छाउँछ्यौ 
तिर्खा पानी भोक् अनि आहार तिमी मेरो लागि ।। 

पानी बीना माछा अनि घाम बीना छायाँ कहाँ 
ठानिसकेँ जीउनुको सार तिमी मेरो लागि ।। 

२०६४.१२.१३ 

Monday, May 20, 2013

कविता (झरीसाहित्य) - परिवर्तन


झरी परेपछि सबै कवि भए |
अघि जो जान्दैनथे
साहित्यका सामान्य नियम
केवल सोसल नेटवर्कमै भएपनि
सबैले कविता लेखे
सबैले कविता देखे
उछिना उछिन
भाग दौड
लाइक र कमेन्ट लिन
फेभरेट र रिट्वीट बटुल्न
संसार एक भएको छ अहिले

समस्त फेसबुक ट्वीटेलाइ
अंगालेको छ झरी साहित्यले
लाग्छ क्रिकेट, फुटबल
जनान्दोलन भन्दा बढी
झरी पर्दा मान्छे एक हुन्छन्
न जातीय बिभेद
न राजनैतिक द्वन्द्व
न बैचारिक मतभिन्नता
संसार यही रहेछ
तर
म सुहाउन्न यो संसारमा
किनकी म जान्दिन
परिवर्तन आत्मसात गर्न
म अघि पनि रवि थिएँ
अहिले पनि रवि नै छु |

विहान भर परेको झरी पछि काम गर्न लागेको अल्छिपनाले जन्माएको साहित्य ;)
२०७०.२.६.२  #हेटौडा #झरीसाहित्य

Friday, May 17, 2013

गजल ..........................१०....................


आज एम एस्सी दोस्रो सेमेस्टर को रिजल्ट भएपछि बी इ पढ्दा लेखेको यो गजल ब्लगमा पोस्ट गर्नु सान्दर्भिक लाग्यो.. कुनै बेला जांचमा पढ्न अल्छी लागेपछि फुरेको यो गजलले मेरो पढाई प्रतिको अल्छीपना उजागर गर्छ.. हुन त यो राम्रो कुरा हैन तर वास्तविकता हो मेरो..
जे होस् गजल सुरु गरौँ होला...


यतीसम्म पढ्दाखेरी त पास भइन्छ कि
भविष्यमा इन्जिनियर काश भइन्छ कि ।।

व्याकका ताँती छन् सोच्दा मुटु कमाउने
झोलाभरि सर्टिफिकेटका राश भइन्छ कि ।।

राम्रो जागीर पाए दङ्ध आफैँ मख्ख पथर्ें हुँला
वा वेरोजगार विशाक्त सास भइन्छ कि ।।

आशा छ दिनसक्छु पर्दा समाजलाई केही
अथवा व्यर्थै पञ्चतत्वमा नाश भइन्छ कि ।।

जीउने रहर धेरै छ विन्ती प्रभु केही गर
बाँच्नु न मर्नुको जिउँदो लास भइन्छ कि ।।

२०६४.०९.१८

Thursday, May 16, 2013

गजल .............९............


परिवार इष्टमित्र जान्दैन अब मानिस
बाबु आमा दाजुभाइ ठान्दैन अब मानिस ।।

समानता स्वतन्त्रता अधिकारको नाममा
मान्यवरको आज्ञा पनि मान्दैन अब मानिस ।।

आफूलाई मनपर्दो सबै कुरा वेश यहाँ
आचरणमा सीमारेखा तान्दैन अब मानिस ।।

उहीलेका कुरा सबै खुइले अब जानौं भन्छ
सनातन र सुसंस्कार धान्दैन अब मानिस ।।

२०६४.२.१३

मुक्तक


यो मुक्तक केइसी पढ्दा ताका साथी किरण चिलुवालको अनुरोध र सहयोगमा हामी दुवैजना मिलेर कालिमाटी स्थित बंगाली फुड हटमा बसी तयार पारेका हौं । यसमा किरणको सेन्टीमेन्ट्सम र मेरो उखान चयन समावेश छ ।।


पढ्न भनी कलेजमा आएँ
देखेँ तिम्रो रुप अपार
मलाई त तिम्रो रुपले लठ्यायो
पशुपतिको यात्रा सिद्राको व्यापार ।।१।।

पछि त गेटदेखिनै लागेँ
भित्रसम्म आँउदा बोल्न सकिँन
हुन चाहिँन तिम्रो मतियार
के गर्नु बाँदरको पुच्छर लौरो न हतियार ।।२।।

बेला बखतमा हाई सम्म भनेकै थिएँ
खायौ तिमीले भाऊ अति
मतलबै छैन नि रामपियारी
खुट्टा भए त जुत्ता कतिकति ।।३।।

भुल पो रहेछ मेरो त्यो
कुरै नबुझी तिमीलाई खोज्नु
थाहा पाएँ आज आएर
नजाने गाउँको बाटै नसोध्नु।।४।।

बिर्सन तिमीलाई धाएँ भट्टी
हुन थालेँ सँधै झ्याप
इटिङ् गेटिङ् नथिङ्
वेरिङ् लेदर क्याप ।।५।।

२०६४.०२.०२

Saturday, May 4, 2013

"हाम्रो ब्लड" संकल्पको अभियान... हेटौडामा सुरु...

संकल्पको अभियान "हाम्रो ब्लड" बारे मिडिया चेतना तथा अन्तराष्ट्रीय रक्तदाता दिवस (जुन १४)मा संकल्प द्वारा आयोजना गरिने अभियानको जानकारी गराउन हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरिएको छ | हाम्रो ब्लड सामाजिक अभियानका हेटौडा संयोजक उमेश सिग्देलको संयोजकत्वमा आयोजित कार्यक्रममा स्थानीय छापा, एफ एम, टेलिभिजन तथा राष्ट्रिय संचार माध्यमका स्थानीय प्रतिनिधिहरु बीच हाम्रो ब्लड ले गर्ने काम तथा स्थानीय स्तरमा रक्तदान बारे जनचेतना फैलाउने अभियानमा सहकार्यको लागि छलफल भएको थियो |

कार्यक्रममा पत्रकार महासंघ मकवानपुर जिल्ला सभापति भानुभक्त आचार्य, महासंघ केन्द्रिय सदस्य प्रताप बिष्ट, पुर्व अध्यक्ष राममणि दाहाल लगायत जिल्ला पदाधिकारी तथा स्थानीय पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो |
कार्यक्रममा "हाम्रो ब्लड" अभियानमा रक्तदाता बन्ने, रक्तदाता खोज्ने, एस एम एस तथा वेबमा आधारित उपायहरु बारे जानकारी गराईएको थियो.. | 

कार्यक्रममा अभियान बारे सहभागी पत्रकारबाट आएको जिज्ञासा हरुको समाधान स्थानिय सहजकर्ता रवि आचार्य, मुस्कान श्रेष्ठ, निशान अर्याल लगायतले गर्नुभएको थियो |