Search This Blog

Wednesday, March 5, 2014

लघुकथा: "सभ्यता"

एजे भर्खरै खुलेको एक बहुराष्ट्रिय कम्पनीको प्रतिष्ठित पोष्टमा छ | बाबुले जुराईदिएको नाम त अजय बाबु शर्मा हो तर उसले कम्पनीको प्रतिष्ठ र आफ्नो रवाफ कायम राख्न यो नाम छानेको रे | व्यस्त शहरमा अति व्यस्त जीवन बिताइरहेको एजेको लन्च र डिनर प्राय रेस्टुरेन्ट, बेकरी क्याफे वा तारे होटलमा हुने गर्छ |
उसको अफिसको नयाँ भवन निर्माणको सिलसिलामा उसले मलाई भेट्न बोलायो टेकुको एउटा ताश घरमा | केही बेर छलफल गरी एक/एक प्लेट तास र एक/एक वोटा चिसो  सकेपछि हामी छुट्टिने तर्खरमा थियौं | वेटरले बिल ल्यायो र अंग्रेजी सभ्यता दर्शायो "five hundred seventy five sir" हुन त उसले यो भन्दा पहिले पनि "menu sir", "what shall I serve you sir?", "this much! fine sir" जस्ता बाक्यांशको प्रयोगले नेपाली कम अंग्रेज ज्यादा भएझैं देखाईरहेको थियो | एजेले पनि हजारको नोट निकालेर "you have good command in English. I like it, you may keep the change" भन्यो | मलाई चित्त बुझेन र बाहिर आएपछि सोधेँ "टिप नै चार सय पच्चिस रुपैंयाँ, यो त बढी भएन?"
"हैन, हेर्न कत्ति राम्ररी सर्भ गरेको | he deserves it" कति सजिलै भन्यो उसले | रोडपारी पे-पार्किंगमा राखेको उसको कारसम्म पुग्न नपाउँदै एक माग्नेले दयालाग्दो ढङ्गले हात फैलायो "हजुर पाँच रुपैंयाँ दिनुस् न, कृपा हुन्छ, दुई दिनदेखि भोकै छु |" तर उसले सजिलै टारीदियो "ओई भाग! पाँच रुपैंयाँ के बोटमा फल्छ? मगन्ते साला..........."

२०६४/१२/१४
नैकाप

No comments:

Post a Comment